प्रशंसा र कृतज्ञता (#11141)

हे मेरा ईश्वर ! सारा स्तुति तिम्रैहोस्, तिमी जो सारा आभा तथा वैभवका, महानता तथा गौरवका, सार्वभौमिकता तथा साम्राज्यका, उच्चता तथा अनुग्रहका, भय तथा शक्तिका स्रोत हौ । तिमी जसलाई चाहन्छौ उसलाई आफ्नो दिव्य महासागरतिर आकर्षित गर्दछौ, र जसलाई चाहन्छौ उसलाई आफ्नो अति प्राचीन नामलाई चिन्ने गौरव प्रदान गर्दछौ । स्वर्गलोक तथा भूलोकको कसैले पनि तिम्रो सर्वोच्च इच्छाको सामना गर्न सक्दैन । अनादिकालदेखि नै समस्त ब्रह्माण्डमा तिमीले आफ्नो शासन चलाइ आएका छौ र सारा सृजित वस्तुहरू माथि तिम्रो आधिपत्यलाई तिमीले अनन्तकालसम्म कायम नै राख्नेछौ । शक्तिशाली, अत्युच्च, सर्व–शक्तिमान्, सर्व–ज्ञानी तिमीबाहेक अन्य कोही ईश्वर छैन । 

हे प्रभु ! तिम्रा सेवकहरूका नेत्रहरूलाई ज्योतिर्मय बनाइदेऊ ताकि तिनीहरूले तिम्रो दर्शन पाउन सकून्, तिनीहरूका हृदयलाई चोख्याइदेऊ ताकि तिनीहरू तिम्रा दिव्य कृपाहरूको दरबारतर्फ फर्कन सकून् तथा उनलाई चिन्न सकून् जो तिमी स्वयंको प्रकटीकरण र तिम्रै सारतत्वका दिवा–स्रोत हुन् । साँच्चै नै, तिमी समस्त लोकहरूका अधिपति हौ । उन्मुक्त र सर्व–विजयी तिमीबाहके अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

प्रशंसा र कृतज्ञता (#11142)

तिम्रो जय जय होस्, हे प्रभु, मेरा ईश्वर ! तिमी उही हौ जसलाई सबैले पूजा गर्दछन् र स्वयं कसैको पूजा गर्दैनौ, जो सबै वस्तुहरूका मालिक हौ तर कसैको सेवक होइनौ, जसलाई सबै कुराको ज्ञान छ तर स्वयं सबैबाट अज्ञात छौ । तिमीले आफुलाई मानिसहरू समक्ष प्रकट गराउने इच्छा गर्यौ; त्यसैले तिमीले आफ्नो एक शब्दको उच्चारणले सृष्टि संसारको उत्पत्ति गर्यौ र ब्रह्माण्डको निर्माण गर्यौ । निर्माणकर्ता, स्रष्टा, सर्व–शक्तिमान्, अति– शक्तिशाली तिमी बाहेक अन्य ईश्वर कोही छैन । 

तिम्रो इच्छाको क्षितिजबाट उदाएको सही  शब्दद्वारा म तिमीसित याचना गर्दछु कि मलाई तिम्रो त्यस जीवनदायिनी जल सेवन गर्न देऊ जसद्वारा तिमीले आफ्ना भक्तहरूको हृदयलाई अनुप्राणित गराएका छौ र तिमीलाई प्रेम गर्नेहरूको आत्मामा पुनर्जीवन भरेका छौ, ताकि सधैँ र सबै परिस्थितिमा म तिमीतिर नै पूर्णरूपले अभिमुख हुन सकूँ । 

तिमी शक्ति, गौरव तथा कृपाका ईश्वर हौ । सर्वोच्च शासक, सर्व–गौरवमय, सर्व–व्यापी तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

प्रशंसा र कृतज्ञता (#11143)

तिमी गौरवमय छौ हे प्रभु, मेरा ईश्वर ! म तिमीलाई कृतज्ञता ज्ञापन गर्दछु, किनकि तिमीले मलाई तिम्रो अवतार चिन्न सक्ने बनायौ, तिम्रा शत्रुहरूबाट टाढै राख्यौ, तिम्रा दिनहरूमा मेरा समक्ष तिनका कुकृत्यहरूको भण्डाफोर गरायौ र तिनीहरूबाट अलग गराएर मलाई तिम्रो दया र प्रचुर कृपातिर अग्रसर गरायौ । म तिमीलाई फेरि पनि धन्यवाद दिन्छु किनकि तिम्रो परम इच्छाको मेघबाट ममाथि वृष्टि गरायौ जसले गर्दा अविश्वासीहरूको भ्रमपूर्ण विवादहरू र नास्तिकहरूका कानेखुसीहरूबाट आफुलाई मुक्त राख्न, आफ्नो हृदयलाई पूरापूरा तिमीमा नै केन्द्रित गर्न र तिम्रो मखु मण्डलको  ज्योतिलाई अस्वीकार गर्नेहरू देखि टाढै रहन म सक्षम भएको छु । म तिमीलाई थप धन्यवाद दिन्छु किनकि तिमीले मलाई तिम्रो प्रेममा अडिग रहन, तिम्रो प्रशंसाको बखान गर्न, तिम्रा सद्गुणहरूको स्तुति गर्न र तिम्रो कृपाको प्यालाबाट त्यो अमृत सेवन गर्न सक्ने बनायौ जुन समस्त दृश्य र अदृश्य वस्तुहरू भन्दा उत्तम छ । 

तिमी सर्व–शक्तिमान्, सर्व–नियन्ता, सर्व–गौरवमय, सर्व–प्रिय छौ ।

-Bahá'u'lláh
-----------------------

प्रशंसा र कृतज्ञता (#11144)

अत्युच्च प्रभुको नाममा, तिमी प्रशंसित तथा गौरवान्वित छौ ! हे प्रभु, सर्व–शक्तिमान् ईश्वर ! तिमी जसको बुद्धिको सामु बुद्धिमान्हरू व्यर्थ र निष्फल हुन्छन्, जसको ज्ञानको सामु विद्वान्हरू आफ्नो अज्ञानता स्वीकार्द छन्, जसको शक्तिको सामु शक्तिशालीहरू शक्तिहीन देखिन्छन्, जसको समृद्धिको सामु धनीहरू आफ्नो निर्धनता प्रमाणित गर्दछन्, जसको प्रकाशको सामु ज्ञानीहरू अन्धकारमा बिलाउँछन्, जसको ज्ञान मन्दिरतिर सम्पूर्ण ज्ञानको सार फर्केका छन् र जसको  उपस्थितिको आरक्ष वरिपरि सारा मानव–जातिका आत्मा परिक्रमा गर्दछन् । 

त्यसो भए तिम्रो त्यस सारतत्वको गुणगान र  बखान म कसरी गर्न सक्छु जसलाई बुद्धिमान्हरूको बुद्धि  र ज्ञानीहरूको ज्ञानले पनि बुझ्न सकेका छैनन्, किनभने आपूmले नबुझेको कुराको वर्णन कुनै पनि मानिसले गर्न सक्दैन र आफुले प्राप्त नगरेको वस्तुको बखान पनि गर्न सक्दैन । तिमी अनन्तकालदेखि अगम्य र अपरम्पार छौ । 

तिम्रो गौरवको स्वर्गमा पुग्न र तिम्रो ज्ञानलोकमा उड्न म असमर्थ भए तापनि तिम्रो गौरवमय सृष्टि कार्यको सङ्केत दिने तिम्रा चिन्हहरूको वर्णन भने गर्न सक्छु । 

तिम्रो गौरवको शपथ ! हे समस्त हृदयका परमप्रिय, तिमीले मात्र तिमीप्रतिको उत्कट चाहनाको छटपटाइलाई शान्त गर्न सक्छौ । स्वर्ग तथा पृथ्वीका निवासीहरू सबै एक भई तिमीले जसमा र जसद्वारा आफुलाई व्यक्त गर्यौ ती चिन्हहरूमध्ये सबभन्दा नगण्य चिन्हको गौरव गाउन खोजे भने पनि तिनीहरू बिफल हुनेछन्, अझ तिम्रा समस्त चिन्हहरूका स्रष्टा तिम्रो पावन वाणीको प्रशंसा गर्न त कति कठिन होला ?

समस्त स्तुति र गौरव तिम्रैहोस्, सबै कुराहरूले यो प्रमाणित गरेका छन् कि तिमी मात्र एक ईश्वर हौ र तिमी बाहेक अन्य कुनै ईश्वर छैन, जो अनन्तकालदेखि अद्वितीय र अद्भूत रहिआएका छौ र अनन्तकालसम्म पनि उस्तै रहिरहने छौ । सारा सम्राट्हरू तिम्रा सेवक मात्र हुन् र तिम्रा अघि दृश्य तथा अदृश्य समस्त जीवहरू केही होइनन् । तिमीबाहेक कृपालु, शक्तिशाली, अत्युच्च ईश्वर अन्य कोही छैन ।

-`Abdu'l-Bahá
-----------------------

